गाईगोठमा आगलागी, पुरै गोठ जलेर नष्ट

काठमाडौँ ; नेपालमा दैनिक रुपमा आगलागी भइरहेको अवस्थामा भर्खरै त्यस्तै घटना सार्वजनिक भएको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडेस्थित वीरबहादुर श्रेष्ठको गाई गोठमा सोमबार बिहान एक्कासी लागेको आगोले पुरै गोठ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

बिहान ३ बजे झिसमिसे उज्यालोमा खोले पकाउने क्रममा बालेको आगो चुल्होबाट उम्केर गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

आगोले गोठमा बाँधिएका ३ वटा राँगा र एउटा गाईको शरिर पिल्सिएर घाइते भएका छन्। त्यस्तै गोठनजिकै रहेको मकैको थाङ्ग्रो सबै जलेर नष्ट भएको छ।

घटनाबारे जानकारी आएलगत्तै नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीबासी मिलेर १ घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आगलागीबाट श्रेष्ठको ८० हजार रुपैयाँभन्दा बढीको नोक्सान भएको घटनास्थलबाट तयार गरेको प्रहरी सर्जमिन मुचुल्काले देखाएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •